काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई विद्यालयमा प्रयोग भइरहेका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
केन्द्रका अनुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ३७ बमोजिम विद्यालयहरूले प्रयोगमा ल्याएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको अनुगमन गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार अनुगमन गरी तयार पारिएको प्रतिवेदन केन्द्रको इमेल cehrdcms@gmail.com मा पठाउन आग्रह गरिएको हो।
शुक्रबार बसेको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको केन्द्रले जनाएको छ। बैठकको निर्णय कार्यान्वयनका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचारमार्फत अनुरोध गरिएको हो।

प्रकाशित: २८ मंसिर २०८२ १२:१५ | Sunday, December 14, 2025
प्रतिक्रिया



