शिक्षा विभागले पठायो यस्तो पत्र, विद्यालय अब के गर्लान्?

हिमाल प्रेस ५ भदौ २०८३ १३:३५ | Friday, August 21, 2026
शिक्षा विभागले पठायो यस्तो पत्र, विद्यालय अब के गर्लान्?

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र  (शिक्षा विभाग) ले आगामी शैक्षिक सत्र २०८४ मा सार्वजनिक विद्यालयतर्फ कक्षा ६ र ९ मा अध्ययन गर्ने विद्यार्थीलाई विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनका लागि प्रोक्सी मिन टेस्टिङ (पीएमटी) फाराम भराउन स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।

विभागको समावेशी शिक्षा शाखाले असार १० गते गरेको निर्णयअनुसार चालु शैक्षिक सत्र २०८३ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीबाट विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ को उपदफा १ को खण्ड (क) बमोजिम पीएमटी फाराम भराउन भनिएको हो।

विभागले विद्यालयले विभागको वेबसाइट वा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) को वेबसाइटबाट पीएमटी फाराम डाउनलोड गरी सूचना प्रकाशन भएको मितिले ४५ दिनभित्र फाराम भराएर आईईएमआईएस प्रणालीमा प्रविष्ट गर्नुपर्ने जनाएको छ।

निर्देशनअनुसार विद्यालयले कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थी तथा उनका अभिभावकलाई फाराम उपलब्ध गराउनुपर्नेछ। विद्यार्थीले फाराममा उल्लेख भएका सम्पूर्ण विवरण सत्यसाँचो भरी अभिभावकबाट प्रमाणित गराएर प्रधानाध्यापकसमक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसरी विद्यार्थी वा अभिभावकबाट पेस भएको फाराम प्रधानाध्यापकले रुजु गरी सहीछाप लगाएर स्थानीय तहमा प्रमाणीकरणका लागि पठाउनुपर्नेछ। स्थानीय तहबाट प्रमाणीकरण भएपछि विद्यालयले प्राप्त पीएमटी फाराम आईईएमआईएसमा लगइन गरी सम्पूर्ण विवरण प्रविष्ट गर्नुपर्नेछ।

विभागले प्रक्रिया सहज बनाउन सबै प्रदेशका शिक्षा विकास निर्देशनालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न तथा शिक्षा विकास तथा समन्वय एकाइलाई विवरण प्रविष्टि वा सम्प्रेषणका क्रममा आवश्यक समन्वय गर्न आग्रह गरेको छ।

सामुदायिक विद्यालयहरूले विद्यार्थीको पीएमटी फाराम भराउन तथा त्यसको विवरण आईईएमआईएस प्रणालीमा प्रविष्ट गर्नुपर्ने विभागको निर्देशन छ। यसबाट आगामी शैक्षिक सत्रमा कक्षा ६ र ९ मा विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थी पहिचानका लागि आवश्यक आधार तयार हुने विभागले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast