बेनी- म्याग्दीको रघुगंगा गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार गरी पठनपाठन सुचारु गरेको छ।
चालु शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो रघुगंगा’ तयार गरेको हो ।
गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयारका लागि जनता मावि दग्नामका प्रधानध्यापक गुन पुनको नेतृत्वमा गठन गरेको कार्यदलले पुस्तक तयार गरी प्रकाशन गरेका हो ।
एक सय पूर्णाङ्कको पठनपाठन हुने गरी स्थानीय पाठ्यपुस्तकको रुपमा पालिकाभित्रका ३३ सामुदायिक र एक संस्थागत विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई उक्त पुस्तक पठनपाठन गराउन सुरु गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख नहेन्द्र आचार्यले जानकारी दिए।
उक्त पाठ्यपुस्तक एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेल, शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीका प्रमुख विदुर चापागाईले विमोचन गरे।
विद्यालय तहका बालबालिकालाई पालिकाभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक, कला, स्थानीय सीप र प्रविधि, कृषि, पशुपालनलगायतबारे जानकारी गराउन स्थानीय पाठ्यपुस्तकले सहयोग पुग्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
उनले पालिकाले छिट्टै कक्षा ४ र ५ को समेत पाठ्यपुस्तक तयार गर्ने जानकारी दिए। स्थानीय पाठ्यपुस्तकले विद्यार्थीलाई आफ्नै पालिकाको समग्र चिनारी गराउने छ।
पुस्तक निर्माण कार्यदलका संयोजक पुनले पालिकाका सबै बस्तीमा पुगेर आवश्यक विवरण तथा तस्बिर र सुझाव संकलन गरी पालिकाको चिनारी हुने गरी पाठ्यपुस्तक तयार गरिएको बताए।




