मेची भन्सारबाट अलैँची निर्यात १०९ प्रतिशतले बढ्यो

हिमाल प्रेस १९ मंसिर २०८२ ६:५५
12
SHARES
मेची भन्सारबाट अलैँची निर्यात १०९ प्रतिशतले बढ्यो अलैँचीको थुप्रो

झापा- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ। कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो।

चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए। अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु एक अर्ब ९० करोड दुई लाख बराबरको अलैँची निर्यात भएको उनले बताए।

कार्यालयको तथ्यांकअनुसार चालु आवको चार महिनामा चियाको निर्यात ३७ दशमलव ७० प्रतिशतले घटेको छ। उक्त अवधिमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए।

कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य बस्तुहरूमा भेनियर सिट १३४ दशमलव ८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो तीन दशमलव २० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ।

यसैगरी, प्लाउड ५२ दशमलव ७० प्रतिशत, अम्रिसो २३ दशमलव ९० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ३० प्रतिशतले कमी आएको छ। मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा रु सात अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको छ।

प्रकाशित: १९ मंसिर २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast