अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ

हिमाल प्रेस १२ असार २०८३ १२:३१ | Friday, June 26, 2026
4
SHARES
अलैँची निर्यातमा कीर्तिमान, ११ महिनामा भित्रियो १२ अर्ब रुपैयाँ तस्बिर : एआई

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालबाट निर्यात हुने अलैँचीको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठसम्म (आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना) नेपालले ६० लाख ३० हजार किलोग्राम अलैँची निर्यात गरी १२ अर्ब एक करोड रुपैयाँ आम्दानी गरेको छ। समीक्षा अवधिमा प्रशोधित भटमास तेलपछि अलैँची नेपालको दोस्रो ठूलो निर्यातजन्य वस्तु बनेको छ।

आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहँदै अलैँची निर्यातबाट भएको आम्दानीले अघिल्ला सबै वार्षिक कीर्तिमान पार गरिसकेको छ। पछिल्लो तथ्यांकले नेपाली किसानले यस वर्ष राम्रो मूल्य पाएको संकेत गर्छ। आर्थिक वर्ष २०७९/८० मा नेपालले ९९ लाख ९० हजार किलोग्राम अलैँची निर्यात गरेको थियो, जुन हालसम्मकै उच्च परिमाण थियो। त्यसबाट आठ अर्ब २७ करोड रुपैयाँ मात्र आम्दानी भएको थियो। यसको तुलनामा यस वर्ष कम परिमाण निर्यात हुँदासमेत १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

पछिल्ला वर्षमा अलैँची निर्यात निरन्तर बढ्दो क्रममा छ। आर्थिक वर्ष २०८१/८२ मा नेपालले ४३ लाख किलोग्राम अलैँची निर्यात गरी सात अर्ब ६८ करोड रुपैयाँ आम्दानी गरेको थियो। त्यस वर्ष प्रशोधित भटमास तेल, सूर्यमुखी तेल र गलैँचापछि अलैँची चौथो ठूलो निर्यात वस्तु बनेको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ५० लाख १० हजार किलोग्राम अलैँची निर्यातबाट सात अर्ब ९४ करोड रुपैयाँ आम्दानी भएको थियो। त्यस बेला गलैँचापछि अलैँची दोस्रो ठूलो निर्यात वस्तु थियो।

आर्थिक वर्ष २०७९/८० मा इतिहासकै धेरै परिमाणमा अलैँची निर्यात भए पनि यो चौथो ठूलो निर्यात वस्तुमै सीमित रह्यो। त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा ५३ लाख ६० हजार किलोग्राम अलैँची निर्यातबाट चार अर्ब ८१ करोड रुपैयाँ आम्दानी भएको थियो। त्यस वर्ष अलैँची नेपालको सातौँ ठूलो निर्यात वस्तु बनेको थियो।

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट निर्यात हुने अधिकांश अलैँची भारत पुग्ने गरेको छ। व्यवसायीहरूका अनुसार भारतमा यसको प्रशोधन, ब्रान्डिङ र प्याकेजिङ गरी पाकिस्तान तथा पश्चिम एसियाका देशसहित अन्तर्राष्ट्रिय बजारमा भारतीय उत्पादनका रूपमा पुनः निर्यात गरिन्छ। उनीहरूका अनुसार यसरी पुनः निर्यात गरिएको नेपाली अलैँची अन्तर्राष्ट्रिय बजारमा प्रतिकिलो २८ अमेरिकी डलरसम्ममा बिक्री हुन्छ। नेपाली किसानले भने भारतीय खरिदकर्तालाई प्रतिकिलो दुई हजार रुपैयाँभन्दा कम अर्थात् करिब १४ अमेरिकी डलरमा बिक्री गर्न बाध्य छन्।

विश्वको कुल अलैँची उत्पादनमध्ये ५५ प्रतिशतभन्दा बढी उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक देश भए पनि नेपालले स्वदेशमै प्रशोधन र मूल्य अभिवृद्धि गर्न नसक्दा उच्च निर्यात आम्दानीबाट वञ्चित हुँदै आएको छ।

नेपालमा उत्पादन हुने अधिकांश अलैँची पूर्वी पहाडी तथा हिमाली जिल्ला ताप्लेजुङ, इलाम, सङ्खुवासभा, पाँचथर र तेह्रथुममा खेती गरिन्छ।

पछिल्लो एक दशकमा अलैँची निर्यातबाट हुने आम्दानीमा उल्लेख्य उतारचढाव देखिएको छ। आर्थिक वर्ष २०७१/७२ मा तीन अर्ब ८३ करोड रुपैयाँमा झरेको आम्दानी त्यसपछिको वर्ष चार अर्ब ६३ करोड रुपैयाँ पुगेको थियो। तर आर्थिक वर्ष २०७३/७४ मा पुनः तीन अर्ब ९० करोड रुपैयाँमा सीमित भयो। त्यसपछि आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ सम्म वार्षिक निर्यात आम्दानी चार अर्ब रुपैयाँभन्दा माथि स्थिर रह्यो भने आर्थिक वर्ष २०७७/७८ मा बढेर ६ अर्ब ९३ करोड रुपैयाँ पुगेको थियो।

प्रकाशित: १२ असार २०८३ १२:३१ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast