काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमान्डु गोर्खाजले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन बनायो। काठमाडौंले पछिल्लो पाँच ओभरमा ६६ रन बनाएको थियो।
चार्ल्सवर्थले ५५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ६४ रन बनाए। भीम सार्कीले १९ बलमै अर्धशतक पूरा गर्दा काठमान्डुको स्कोरबोर्डले गति लियो। अन्तिम ओभरमा आउट हुनुअघि उनले २२ बल खेलेर ५ चौका र ४ छक्काको मद्दतमा ५५ रन बनाए।
चार्ल्सवर्थ र भीमबीच छैटौं विकेटका लागि ८४ रनको साझेदारी भयो। त्यसअघि ओपनर आकाश त्रिपाठी शून्यमा पोखराका धनञ्जय लक्षनबाट बोल्ड भए। रशिद खान ७ रनमा आउट भए भने मिलिन्द कुमारले १३ रन जोड्न सके। जोन सिमसन २ रन र आदिल अन्सारी ७ रनमा पेभिलियन फर्के।
बलिङमा पोखराका धनञ्जयले ४ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा १६ रन मात्र दिए। कप्तान कुशल भुर्तेलले २ विकेट लिए भने विपिन खत्री र किरण ठगुन्नाले १-१ विकेट हात पारे।
काठमान्डु ८ अंकसहित प्लेअफ नजिक छ। आजको जितले काठमान्डु प्लेअफमा पुग्नेछ। यता ४ अंक जोडेको पोखराका लागि जितको विकल्प छैन।



