जनकपुरधाम- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुरेन्द्र लाभले सोमबार संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएपछि मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो। विश्वासको मत पाउने आधार नदेखेपछि यादवले पदबाट राजीनामा दिएका थिए।
प्रदेश प्रमुख लाभले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई शुक्रबार दिनको पाँच बजेसम्मको समय दिएका छन्।
‘संविधानको धारा १६८ को उपधारा २ बमाजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८२/०८/१९ गते शुक्रबार दिनको ५ बजेभित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न अह्वान गर्नुभएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्चमा रिट दिएका थिए।
रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार २४ घन्टाभित्र मुख्यमन्त्री यादवलाई विश्वासको मत दिन परमादेश जारी गरेको थियो। विश्वासको मत प्राप्त गर्न नसके धारा १६८ (२) बमोजिम सरकार गठनको प्रक्रिया अगाडि सर्वोच्चको परमादेश छ।




