काठमाडौँ- पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ। यो जितसँगै सुदूरपश्चिम अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
सुदूरपश्चिमले पराजित गरेसँगै पोखरा लगातार दोस्रो खेलमा हार बेहोरेको छ। यसअघि पोखरा आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो।
शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमले प्रस्तुत गरेको १९४ रनको लक्ष्य पोखराले पछ्याउन सकेन। पोखराले निर्धारित २० ओभरमा ८ विकेट गमाउँदै मात्र १७५ रन बनाउन सक्यो।
पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५३ रन बनाए। त्यस्तै िजिमी निसमले ४७ र डान डाउथवेटले ३७ रनको योगदान दिए। सुुदूरपश्चिमका लागि हर्मित सिंहले २, स्कट कुगलेन, दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी, अविनाश बोहरा र नरेन साउदले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले १९३ रनको विशाल योगफल खडा गरेको थियो। सुदूरपश्चिमका लागि जौस ब्राउनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारीले ४३ रन बनाउँदा क्रिस लेनले आक्रमक ३१ रनको इनिङ खेले। उनले १३ बलमा ३१ रन बनाएका थिए।
पोखराका लागि जिमी निसमले ३, आकश चन्द र डान डाउथवेटले २–२ विकेट लिएका थिए।
शनिबार पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किंग्सबीच हुनेछ।


