काठमाडौँ- मधेश प्रदेशका पाँच जना प्रदेश सांसद पदमुक्त भएका छन्। पाँच जना सांसदलाई पदमुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको हो।
प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले बिहीबार साँझ जारी गरेको सूचनामा लगातार दशवटा बैठकमा अनुपस्थित रहेका सांसदहरू पदमुक्त भएको उल्लेख छ।
पदमुक्त हुने सांसदहरू उर्मिला देवी सिंह (नाउपा), मनिषकुमार सुमन (जसपा नेपाल), संजयकुमार यादव (जसपा नेपाल), सिंहासन साह कलवार (जसपा नेपाल) र सारदा शंकर प्रसाद कलवार (जसपा नेपाल) रहेका छन्। पदमुक्त हुनेमा चार जना जसपा नेपाल र एक जना नागरिक उन्मुक्ति पार्टीका रहेका छन्।
‘…मधेश प्रदेशसभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० (घ) बमोजिम प्रदेशसभामा लगातर १० (दश) वटा बैठकमा अनुपस्थित रहेका पसिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२/०७/२७ देखि प्रदेशसभा सदस्यबाट मुक्त भएको हुँदा निजहरू प्रदेशसभा सदस्यहरूको स्थान रिक्त भएको ब्यहोरो प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धी सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।
प्रदेशसभाका सचिवालय सचिव तथा सूचना अधिकारी होमनाथ पहाडीले लगातार दश बैठकमा अनुपस्थित सांसदहरू पदमुक्त भएको जानकारी दिए। उनले सभामुख रामचन्द्र मण्डलको निर्देशनअनुसार प्रदेशसभामा सूचना टाँस गरिएको बताए।




