सर्वोच्च अदालत भवन। फाइल तस्बिर।
काठमाडौँ- मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।
मधेस प्रदेशका ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध सांसदहरुले सर्वोच्चमा रिट दायर गरेका हुन्। उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन्।
यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार मुख्यमन्त्री यादवलाई मधेस प्रदेशमा दीर्घकालीन प्रभाव पार्ने कुनै नीतिगत निर्णय नगर्न आदेश गरेको हो ।
रकी प्रसाद साहसमेतले सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।



