काठमाडौँ- पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ। गत साउन १ गतेदेखि गत असोज ३१ गतेको अवधिमा सो सङ्ख्यामा प्रेस स्वतन्त्रता हननका घटना भएको काउन्सिलले जनाएको हो।
तीमध्ये सबैभन्दा धेरै आक्रमण/कुटपिटका ३४ घटना रहेको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए। त्यसै गरी धम्की/दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा/अवरोधका पाँच र नीतिगत बन्देजका दुई घटना घटेको जनाइएको छ।
प्रदेशअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४४, मधेश प्रदेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन, सुदूरपश्चिममा एउटा घटना घटेका छन्। लैंगिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएको पाइएको छ। यस अवधिमा प्रेस स्वतन्त्रता दुरुपयोगका दुई घटना घटेकामा बागमती प्रदेशमा एक र मधेस प्रदेशमा एक घटना घटेका हुन्।
यसैबीच प्रेस काउन्सिल नेपालको एक टोलीले जेनजीको नाममा गत भदौ २३ र २४ गतेको प्रदर्शनका कममा काठमाडौँ उपत्यकाका सञ्चारमाध्यममा भएको तोडफोड, आगजनीबारे स्थलगत अनुगमन गरेको थियो।



