काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न सक्रिय रहेको आरोप लगाएका छन्। उनले सञ्चारगृह, राजनीतिक दलका नेताको घर र व्यावसायिक क्षेत्रअगाडि गाडी तेर्स्याएर नागरिकलाई त्रसित बनाउने कार्य राज्यका लागि अस्वीकार्य भएको बताए।
४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाले राणा शासनका प्रधानमन्त्रीलाई दिएको ‘नागरिकले सत्तामाथि प्रश्न गर्ने अधिकार कसैले रोक्न सक्दैन’ भन्ने सन्देश स्मरण गराउँदै अहिलेको सरकारले त्यही अधिकारमाथि हस्तक्षेप गर्न खोजेको टिप्पणी गरे।
उनले पार्टी नेताका घर, सञ्चारगृहका कार्यालय र व्यावसायिक प्रतिष्ठानअगाडि गाडी तेर्स्याएर नागरिकको निजी सम्पत्ति, जीविकोपार्जन र स्वतन्त्रतामाथि आक्रमण गरिएको आरोप लगाए। थापाले गाडी तेर्स्याउन गएका व्यक्तिहरू सरकारी गाडी चढेर फर्किएको जानकारी स्थानीयवासीबाट प्राप्त भएको दाबी गर्दै सुकुम्बासी समस्या र गणेश नेपालीको आत्मदाह प्रकरणबारे दल र सञ्चारमाध्यमले प्रश्न उठाउन थालेपछि राज्यले यस्तो व्यवहार गरेको आरोप लगाए।
सुकुम्बासी समस्यालाई राजनीतिक मुद्दा बनाउने कांग्रेसको नीति नरहेको स्पष्ट पार्दै उनले सरकारले कानुनसम्मत समाधान खोज्न नसकेर आफैँ समस्या सिर्जना गरेको बताए। सरकार प्रत्येक नागरिकको अभिभावक र संरक्षक हुनुपर्नेमा मानव जीवनको रक्षाप्रति उदासीन र करुणाविहीन बनेको उनको टिप्पणी थियो।
थापाले कांग्रेस अब कुनै घटना भएपछि मात्रै प्रतिक्रिया जनाउने पार्टीका रूपमा सीमित नरहने भन्दै सम्भावित नागरिक समस्यालाई पहिल्यै उजागर गर्ने अभियान सञ्चालन गर्ने जानकारी पनि दिए। उनका अनुसार पार्टीको ‘जरा अभियान’ साउन ६ गते सम्पन्न भएपछि साउन ७ गतेदेखि भदौ २४ गतेसम्म सञ्चालन हुने नयाँ अभियान घोषणा गरिनेछ।
कार्यक्रममा कांग्रेस उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते पाँच किलोमिटर ‘ग्रिन रन’, चित्रकला प्रदर्शनी र संवाद कार्यक्रम आयोजना गरिने जानकारी दिए। उनले जलवायु परिवर्तन र त्यसको प्रभावलाई यस वर्षको बीपी स्मृति दिवसको मुख्य विषय बनाइएको तथा साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिने बताए।
बैठकमा उपत्यकामा रहेका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका अध्यक्ष, उपत्यकाका जिल्ला सभापति तथा प्रतिष्ठानका सदस्यहरूको सहभागिता थियो।


