काठमाडौँ- मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा तालाबन्दी भएको छ। एमालेबाहेकका दलहरूले मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गरेका हुन्। बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त भएका नेकपा एमाले संसदीय दलका नेता सरोज यादव पदभार ग्रहण गर्न आउने भएपछि नेपाली कांग्रेस, जसपा नेपाल, लोसपा, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूले मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गरेका हुन्।
मुख्यमन्त्री यादव पदभार ग्रहणका लागि आउन लागेको जानकारी प्राप्त भएपछि सबै कर्मचारीलाई बाहिर निकालेर मुख्यमन्त्री कार्यालयमा आफूहरूले तालाबन्दी गरेको लोसपा प्रदेश सचिव रामविनोद चौधरीले बताए।
मुख्यमन्त्री नियुक्तिको विरोधमा उनीहरूले कार्यालयमा ताला लगाएर बाहिर टायर बालेर प्रदर्शन गरेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकार गठनको आह्वान नै नगरी एमाले संसदीय दलका नेता यादवलाई सोमबार बिहान चार बजे बर्दिवासको होटलमा मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सिर्जना भएको हो।
सोमबार बिहान चार बजे मुख्यमन्त्री नियुक्त भएका यादवले मन्त्रिमण्डलमा एमालेका लखन दास, संघीय समाजवादी नेपालकी बिमला अन्सारी र राप्रपाकी कञ्चन विच्छालाई सहभागी गराएका छन्। संघीय समाजवादी र राप्रपाको मधेश प्रदेशमा एक–एक सांसद छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएकी विच्छालाई तत्काल फिर्ता हुन निर्देशन दिएका छन्। यादव मुख्यमन्त्री नियुक्त भएपछि एमालेभित्रै विवाद देखिएको छ।
एमाले मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक हरिनारायण महतोले सरकार गठन तथा मुख्यमन्त्री नियुक्तिबारे आफूलगायत अधिकांश सांसदहरूलाई जानकारी नभएको बताएका छन्। संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको सम्भावना जिवीतै रहेकोले उपधारा ३ मा नजाने आफूले सचेत गराएको महतोले बताए। उनले नहुनुपर्ने घटना भएको उल्लेख गरेका छन्।
यो विषयमा दलभित्र छलफल हुने महतोको भनाइ छ।



