काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबदेखि सिंहदरबारस्थित आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ।
मन्त्रालयका अनुसार गत भदौ ३१ गतेदेखि केशरमहलबाट हुँदै आएको शिक्षासम्बन्धी सेवा (कात्तिक १६ गते) आज दिउँसो ३ बजेदेखि सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन हुने भएको हो।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले जारी गरेको सूचनामा विज्ञानतर्फका महाशाखा र शाखाबाट प्रवाह हुने सेवा भने हालका लागि केशरमहल र सिंहदरबार दुवै स्थानबाट सञ्चालन हुने उल्लेख गरिएको छ।
यस्तै, सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एओसी) शाखा, शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा र छात्रवृत्ति शाखाबाट प्रदान हुँदै आएको सेवा भने पूर्ववत स्थानबाटै निरन्तर सञ्चालन हुने मन्त्रालयले जनाएको छ।
प्रकाशित: १६ कार्तिक २०८२ १५:१२
प्रतिक्रिया



