चितवन- चितवनका मौरीपालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन्। मौरीका लागि चरनको अवस्था यो मौसममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन्।
मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार अहिलेको समयमा चरन क्षेत्रको अभावका कारण किसानले बाहिरी जिल्लामा मौरी चराउन लाने गरेका छन्।
उनका अनुसार दाङ, प्यूठान, रोल्पालगायतका जिल्लामा मौरी चरनका लागि लैजाने गरिएको छ। उनले भने,‘यहाँका ७० प्रतिशत मौरीका घार चरनका लागि बाहिर लैजाने गरिएको छ।’
दाङमा यो समयमा तोरी फूल्ने भएकाले ६० प्रतिशत मौरीका घार लैजाने गरेको उनले बताए। यस्तै प्यूठान र रोल्पामा १० प्रतिशत घार लैजाने गरिन्छ। जिल्लामा रहेका गोलामध्ये बलियो गोला छनोट गरेर चरनका लागि लैजाने गरिएको छ। यहाँ यो समयमा चरन नहुँदा बाँकी रहेका ३० प्रतिशत मौरीलाई चिनीको घोल (चास्नी) खुवाएर राख्ने गरिएको उनले बताए।
उनका अनुसार यहाँ राखिएका मौरीबाट मह निकाल्न मिल्दैन। यहाँका मौरी पालक किसानले १६ हजार २०० घार मेलीफेरा र ३०० घार सेरेना जातको मौरी पालन गरेको उनले जानकारी दिए। यसबाट वार्षिक ४६५ मेट्रिकटन हाराहारी मह उत्पादन हुँदै आएको छ।



