
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज दिउँसोसम्म देशका विभिन्न नदीहरूको अवस्था सामान्य रहेको जनाएको छ । विभागले सूचना जारी गरी आज दिउँसो ४ बजेसम्म नदीहरूको अवस्था सामान्य रहेको जनाउँदै भोलि दिउँसोबाट देशका विभिन्न नदीहरूमा पानीको बहाब बढ्ने चेतावनी दिएको छ ।
विभागका अनुसार भोलि (शनिबार) दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको क्षेत्रमा वर्षा सुरु भई नदीहरूमा बहाब बढ्न सुरु हुनेछ । भोलि राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागले जनाएको छ ।
त्यस्तै, पर्सि (आइतबार) बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालिगण्डकी, सेती, मादी, मर्सयाङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहररू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने विभागको सूचनामा उल्लेख छ ।
साथै, आइतबार रातिदेखि प्रणाली बिस्तारै पूर्वतर्फ सर्दै जाने र कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्ने सम्भावना रहेको छ ।
उक्त अवधिमा आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।