पर्यटकका पखाईमा म्याग्दीको पुलाश्रम

हिमाल प्रेस २१ साउन २०८२ १४:०८
10
SHARES
पर्यटकका पखाईमा म्याग्दीको पुलाश्रम

म्याग्दी- हिन्दु धर्मग्रन्थ रामायणमा वर्णित पात्र रावणको जन्मस्थलको रूपमा विश्वास गरिने म्याग्दीको पुलाश्रम पर्यटकीय तथा धार्मिक दृष्टिले महत्वपूर्ण स्थान हो। तर पर्याप्त प्रचारप्रसार र पूर्वाधार अभावका कारण यो स्थल पर्यटकको पर्खाइमा छ।

बेनी नगरपालिका-५ मा अवस्थित पुलाश्रमलाई स्थानीयले ‘पछै’ भन्ने गर्छन्। पौराणिक मान्यताअनुसार यस स्थानमा पुलस्त्य र पुलह ऋषिले तपस्या गरेका थिए र यही स्थानमा रावणको जन्म भएको उल्लेख श्रीमद्भागवत महापुराण तथा रामायणमा पाइन्छ। पुलाश्रम क्षेत्रको संरक्षण र विकासका लागि पौलत्स्य क्षेत्र विकास कोष सक्रिय छ।

कोषका उपाध्यक्ष तेजप्रकाश बानियाँका अनुसार पुलाश्रममा रहेको हवन कुण्डमा ऋषिहरूले हवन गरेको र अहिले पनि त्यसका अवशेष देख्न सकिने बताउँछन्। ‘धार्मिक र ऐतिहासिक महत्त्व बोकेको पुलाश्रम पर्यटकीय सम्भावनाले भरिएको छ,’ बानियाँले भने, ‘तर प्रचारप्रसार र यातायातको अभावले यो क्षेत्र ओझेलमा परेको छ।’

पुलाश्रमको फेदीमा रहेको बेनी बजार भएर वार्षिक सात लाखभन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन मुक्तिनाथ यात्रा गर्छन्। तर पुलाश्रम नजिकै भएर गए पनि अधिकांश तिर्थयात्री जानकारीको अभाव र पहुँचको समस्याले फर्किन बाध्य छन्।

स्थानीय शान्ति शर्माका अनुसार पुलाश्रमसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग र स्तरीय सडकको आवश्यकता छ। ‘बर्षौँ अघि महायज्ञबाट संकलित रकमबाट मन्दिर निर्माण गरिएको हो, तर अझै पूर्वाधार अधुरा छन्,’ उनले भनिन्।

हालै पुलाश्रम परिसरमा रावण पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। बेनी नगरपालिका–५ का वडा अध्यक्ष गोविन्द बानियाँका अनुसार २१ फिट अग्लो धातुको रावण मूर्तिको संरचना लगभग सम्पन्न भइसकेको छ। ‘१० टाउको रहेको मूर्तिमा जनै राख्ने र सरसफाइको काम मात्रै बाँकी छ,’ उनले भने।

चार रोपनी क्षेत्रफलमा फैलिएको रावण पार्कमा प्रवेशद्वार, घेराबार, पदमार्ग, स्लेट बिछ्याउने र दुवो रोप्ने काम पूरा भएको छ। रु. १ करोड ७६ लाखको लागतमा ऋषिमुनिको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडिएको भनिने स्थानको संरक्षणसहित विश्रामस्थल र बगैँचाको निर्माण गरिएको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार बेनी–पुरुण्डी खण्डको छ किलोमिटर सडक पक्की भइसकेको छ भने चनौटे–पुलाश्रम सडक स्तरोन्नतिका लागि प्रदेश र संघीय सरकारसँग प्रस्ताव पेस गरिएको छ।

नगरपालिकाले धार्मिक पर्यटकीय सम्भावनालाई ध्यानमा राख्दै बेनी–पुलाश्रम–जगन्नाथ–गलेश्वर धार्मिक कोरिडोरको अवधारणा अघि सारेको छ। ‘धार्मिक कोरिडोरको विकासबाट मुक्तिनाथ जाने तीर्थयात्रीलाई बेनीमा भुलाउने र बसाइ लम्ब्याएर स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य छ,’ प्रमुख केसीले भने।

गण्डकी प्रदेश सरकारको सहकार्यमा गलेश्वरदेखि पुलाश्रम जोड्ने सडकको काउलेगौडा खण्डमा स्तरोन्नतिको काम सुरु भइसकेको छ। पुलाश्रमको ऐतिहासिक र धार्मिक महत्त्वलाई आधार मानेर दक्षिण भारत र श्रीलंकाबाट समेत धार्मिक पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ। रासस

प्रकाशित: २१ साउन २०८२ १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast