 
                             
                                            बुटवल– बुटवल उपमहानगरपालिकाले प्राविधिक छोरी कार्यक्रमअन्तर्गत ४० जनालाई निःशुल्क प्राविधिक शिक्षा दिन थालेको छ। दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आइरहेको देशकै पुरानो बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) मार्फत दुई वर्षे ‘प्री डिप्लो’मा तहको मेकानिकलतर्फ २० र इलेक्टिकतर्फ २० गरी ४० जनालाई पढाउन थालिएको हो।
छनोटमा परेर पढाई शुरू गरेका ४० जना लुम्बिनी प्रदेशका प्रायः सबै जिल्लाका छन्। कार्यक्रमको शुक्रबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुरुवात गरे।
नगरप्रमुख पाण्डेय शिक्षाको क्षेत्रमा लगानी बढाउँदै छोरीलाई प्राविधिक शिक्षासँग जोडन कार्यक्रम सञ्चालन गरिएको बताए। छोरीलाई प्राविधिक शिक्षाको क्षेत्रमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम सुरू गरिएको बताउँदै मेयर पाण्डेयले मेकानिकल र इलेक्टिकलजस्ता महत्वपूर्ण व्यापारिक क्षेत्रमा दुई विषयको तालिम लिएपछि आत्मनिर्भर र समाजको विकासमा सक्रिय योगदान पुर्याउन सक्ने आशा व्यक्त गरे।
उनले २ वर्षसम्म पढाइ र प्रयोगात्मक रूपमा हुने भएकाले अध्ययन सकेपछि छोरीहरूले विद्युत् प्राधिकरणसहितका अन्य विद्युत् कम्पनी, निजी क्षेत्रमा समेत रोजगार प्राप्त गर्न सहज हुने बताए।
नगर उपप्रमुख सावित्रादेवी अर्यालले आफ्नो क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गर्न उपमहानगरपालिकाले छोरीहरूमा लगानी गरिरहेको बताइन्।
बीटीआई शिक्षा र सीप विकासको क्षेत्रमा लामो समयदेखि अग्रणी संस्थाको रूपमा स्थापित छ। बीटीआईका तालिम विभाग प्रमुख मानकाजी कुमालले अहिले मेकानिकल, इलेक्टिकल, सिभिल (बीएन्डसी) वेल्डिङलगायतका पढाई सञ्चालन भइरहेका बताए। बीटीआईमा एक हप्तादेखि १ वर्षेसम्मका विभिन्न तालिमहरू पनि सञ्चालन हुँदै आएको छ।
प्राविधिक जनशक्ति उत्पादनमा बीटीआईले २०२० सालदेखि नै योगदान गर्दै आएको निमित्त प्रशासन अधिकृत सम्झना सुवेदीले बताइन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 