काठमाडौँ महानगरले २४ घण्टा नबित्दै सार्वजनिक गर्‍यो छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा

हिमाल प्रेस ४ साउन २०८२ १५:०१
54
SHARES
काठमाडौँ महानगरले २४ घण्टा नबित्दै सार्वजनिक गर्‍यो छात्रवृत्ति प्रवेश परीक्षाको नतिजा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिको लागि लिइएको प्रवेश परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गरेको छ।

महानगरको शिक्षा विभागका अनुसार २०८२ साउन ३ गते शनिबार आयोजित परीक्षामा ५४ केन्द्रहरूमा १४,१७३ जना विद्यार्थी सहभागी भएका थिए। तिनीहरूमध्ये १०,८६७ जनाले न्यूनतम ४० अंक प्राप्त गरी परीक्षा उत्तीर्ण गरेका छन्।

नतिजा अप्टिकल मार्क पहिचान प्रणाली प्रयोग गरी परीक्षण गरिएको हो। यसले उत्तरपुस्तिकालाई स्वचालित स्क्यानमार्फत मूल्यांकन गर्ने भएकाले नतिजा छिटो र पारदर्शी रूपमा सार्वजनिक गर्न सम्भव भएको शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीले जानकारी दिए।

सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले २४ घण्टामै नतिजा प्रकाशन गर्नु उदाहरणीय भएको बताए। उनले भने, ‘शिक्षा विभागको मेहनत, योजना आयोगको समन्वय र दुई वर्षको अनुभवका कारण यो सम्भव भयो। हामी दिनरात खट्यौं, किनकि अहिलेको समय विद्यार्थी भर्नाको हो। ढिलो भए विद्यार्थीहरू मारमा पर्थे।’

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो। अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० र सामान्य ज्ञानबाट १० प्रश्न गरी १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए। गलत उत्तरमा कुनै नकारात्मक अङ्कन थिएन।

देशभरका ७७ जिल्लाबाट १७,२२९ आवेदन परेका थिए। जसमध्ये १६,१३७ जनाको आवेदन छनोट भएर १४,१७३ जनाले परीक्षा दिएका थिए।

विद्यार्थीहरूले एसईईको सिम्बोल नम्बर, जन्ममिति र प्राप्त पासवर्ड प्रयोग गरी महानगरको आधिकारिक वेबसाइट entrance.kathmandu.gov.np वा महानगरको वेबसाइटमार्फत नतिजा हेर्न, डाउनलोड गर्न वा प्रिन्ट गर्न सक्नेछन्।

महानगर अन्तर्गत सञ्चालित १६० संस्थागत विद्यालयहरूमा ४ हजारभन्दा बढी छात्रवृत्तिका सिटहरू रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast