
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेका छन्। पार्टी हितविपरित गतिविधि गरेको भन्दै अध्यक्ष लिङदेनले गिरीलाई उपाध्यक्षबाट पदमुक्त गरेका हुन्।
उपाध्यक्षका साथै गिरीलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट पनि हटाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
गिरी राप्रपाका मनोनीत केन्द्रीय सदस्य एवं उपाध्यक्ष थिए।
मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी पूरा नगरेपछि गिरीलाई पदमुक्त गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख श्रेष्ठले बताए।
‘पार्टी हितविपरित गतिविधिमा संलग्न रहनुभयो, मनोनीति पदको जिम्मेवारी वहन गर्नु भएन,’ श्रेष्ठले भने,‘पार्टीले निष्कासन गरेका व्यक्तिसँग निर्वाचन आयोग पुग्नुभयो। त्यसैले उहाँलाई पदमुक्त गरिएको हो।’
अध्यक्ष लिङ्देनले नेता नवराज सुवेदीलाई अनुशासन समितिको प्रमुखबाट हटाएका थिए। बिहीबार अध्यक्ष लिङ्देनलाई लक्षित गर्दै विज्ञप्ति निकाल्ने चार नेताहरूमध्ये गिरी पनि एक थिए। उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशम्शेर राणा र महामन्त्री कुन्ती शाहीसहित गिरीले संयुक्त विज्ञप्ति निकालेर स्वेच्छाचारी निर्णयले पार्टीलाई अपूरणीय क्षति भएको आरोप लगाएका थिए।