शिक्षामन्त्री पन्त र अमेरिकी राजदूतबीच भेट, छात्रवृत्ति, विद्यालय पुनःनिर्माण र उच्च शिक्षामा सहकार्यबारे छलफल

हिमाल प्रेस ३२ असार २०८२ १०:१६ | Wednesday, July 16, 2025
शिक्षामन्त्री पन्त र अमेरिकी राजदूतबीच भेट, छात्रवृत्ति, विद्यालय पुनःनिर्माण र उच्च शिक्षामा सहकार्यबारे छलफल

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनबीच काठमाडौँमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। परराष्ट्र मन्त्रालयको पत्रअनुसार २५ असारमा सम्पन्न उक्त भेटघाटमा द्विपक्षीय सहकार्य, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति विस्तार तथा भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनःनिर्माणलगायतका विषयमा विशेष छलफल भएको थियो।

भेटका क्रममा मन्त्री पन्तले नेपालको शान्ति, लोकतन्त्र र विकासमा अमेरिकाले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ प्रगाढ बनाइनेमा जोड दिए। उनले अमेरिकी शिक्षा प्रणालीप्रति नेपाली विद्यार्थीको आकर्षण उल्लेख गर्दै अमेरिकी विश्वविद्यालयहरूबाट थप छात्रवृत्ति उपलब्ध गराउन सके नेपालका लागि मानव संसाधन विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे।

मन्त्री पन्तले (शान्ति कोर स्वयंसेवक)कार्यक्रमले विद्यालय शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै सन् २०१५ र २०२२ का भूकम्प तथा पछिल्ला विपद्बाट क्षति पुगेका विद्यालयको पुनःनिर्माणमा निरन्तरता आवश्यक रहेको जानकारी पनि दिए।

राजदूत थम्पसनले नेपाल सरकारद्वारा शिक्षा विधेयकका लागि गरिएको प्रयासको प्रशंसा गर्दै नेपालस्थित अमेरिकी शैक्षिक संस्थान ‘लिंकन स्कुल’ मा कार्यरत शिक्षक र कर्मचारीको भिसा प्रक्रियामा देखिएको समस्या समाधानका लागि शिक्षा मन्त्रालयको सहयोग अपेक्षित रहेको बताए।

त्यस्तै, उनले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या उल्लेख्य रहेको उल्लेख गर्दै यो तथ्य दुई देशबीचको सबल कूटनीतिक सम्बन्धको संकेत भएको टिप्पणी गरे। साथै, उच्च शिक्षामा अमेरिकी विश्वविद्यालयसँग सहकार्यका सम्भावनाबारे छलफल गर्न सकिने प्रस्ताव पनि राखे।

मन्त्री पन्तले उठाइएका सबै विषयलाई सम्बोधन गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता जनाए।

प्रकाशित: ३२ असार २०८२ १०:१६ | Wednesday, July 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast