तस्बिर : प्रधानमन्त्रीको सचिवालय
                                            काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा कसैलाई पनि राजनीति नगर्न आग्रह गरेका छन्।
बिहीबार ललितपुरमा राष्ट्रिय खेलकुद परिषद्ले अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा निर्माण गरेको नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीतर्फ लक्षित गर्दै सरकारमा राजनीतिक दलका नेताहरुको प्रतिनिधि हुने भए पनि खेलकुद क्षेत्रमा भने कसैले पनि राजनीति गर्न नहुने बताए।
खेल क्षेत्रमा आएका व्यक्तिहरुले राजनीति गर्न नभई खेल क्षेत्रको विकास गर्न ध्यान दिनुपर्ने उनले बताए।
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल क्रिकेट संघ (क्यान) बीच विवाद चलिरहेको छ। एनपीएलको हिसाबकिताबलाई लिएर दुई निकायबीच विवाद सुरू भएको हो।
मन्त्री चौधरीले एनपीएलको विवादको अनुसन्धान गर्न राखेप सदस्य रञ्जना प्रधानको संयोजकत्वमा कार्यदल गठन गरेका छन्। यो कार्यदलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पूरा नगरेसम्म एनपीएलको काम रोक्न निर्देशन दिएको छ।
कार्यदलको निर्देशनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले क्यानलाई एनपीएलको तयारी गर्न निर्देशन दिए।
‘नेपाल प्रिमियर लिग राष्ट्रको गौरव हो, देशको प्राइड हो। यसलाई अघि बढाउन खेलकुद मन्त्रालय, राखेप र क्यान सवैको ध्यान जानुपर्छ। एनपीएलको तयारी अगाडि बढाउनुस्,’ उनले भने।
प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद पटक–पटक स्थगित गरिनु लज्जाको विषय भएको भन्दै अब २०८२ मंसिरमा जसरी पनि राष्ट्रिय खेलकुद आयोजना गर्न निर्देशन दिए।
उनले भक्तपुर र झापामा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने र कीर्तिपुर रंगशालाको पनि विभिन्न फेजमा विस्तार गर्ने जिकिर गरे। प्रधानमन्त्री ओलीले वर्तमान सरकार खेल क्षेत्रको विकासका लागि गम्भीर रहेकाले आगामी वर्षका लागि यस क्षेत्रको बजेट दोब्बर बनाइएको बताए।
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि सातदोवाटोमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स ल्याब निर्माण गरेको हो। एकैपटक सयभन्दा खेलाडीले प्रशिक्षण गर्नसक्ने गरी ल्याब निर्माण गरिएको राखेपले जनाएको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

