क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी

हिमाल प्रेस २५ असार २०८२ १०:२३
28
SHARES
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष किरोज श्रेष्ठले आगामी (२०२५–२०२७) कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

‘गैरराजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा गरिएका महत्वपूर्ण कार्यहरूको सूची सार्वजनिक गरेका छन्। २०२३–२०२५ कार्यकालमा उपाध्यक्षको रूपमा रहेका उनले एनआरएन क्यानडाको इतिहासमा पहिलो पटक संघीय सरकारबाट कार्यक्रमहरूका लागि अनुदान भित्र्याउन सफल भएका थिए।

दुई वर्षको अवधिमा एनआरएन क्यानडाका विभिन्न कार्यक्रमका लागि करिब ७५ हजार डलर अनुदान ल्याएका थिए। किरोज कै पालामा दर्जनौं स्थानीय नेपाली संघसंस्थाहरूजस्तै नेपाली महिला चौतारी, लालीगुराँस स्पोट्र्स एण्ड कल्चरल क्लब, वुमन एजुकेशन एण्ड स्किल डेभलपमेन्ट, ब्रदरहुड नेपाली स्पोट्र्स क्लब, ब्रामसागा युनाइटेड लगायतका संस्थाहरूले पनि करिब ७५ हजार डलर सरकारी अनुदान प्राप्त गरेका थिए।

श्रेष्ठ सेन्ट्रल रिजनल कमिटीको संयोजकको रूपमा हुँदा सडबरी र ब्यारीलगायतका सहरहरूमा विभिन्न नेपाली राष्ट्रिय दिवसको अवसरमा स्थानीय सिटि भवनमा नेपाली झन्डा फहराउने कार्यक्रम आयोजना गर्नुका साथै सार्निया, कोर्नवाल, विन्डसर, नाएग्रालगायत दर्जनौं सहरहरूमा निःशुल्क ट्याक्स क्लिनिक सञ्चालन गरेका थिए। लन्डन सहरमा पहिलो पटक नेपालि राजदूतावासको घुम्ती कन्सुलर सेवा पुर्‍याउनले काम पनि उनकै पालामा भएको थियो।

श्रेष्ठले नेपाली क्रिकेटका लागि पनि आफ्नो कार्यकालमा निकै महत्वपूर्ण योगदान गरेका थिए। क्यानाडा भ्रमणमा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानाडामा फुड डोनेट गर्न समन्वय गरेका थिए। क्रिकेट क्यानाडाद्वारा आयोजित अन्तर्राष्ट्रिय खेलहरूमा नेपाली समुदायका अग्रजहरूको लागि निःशुल्क भिआइपी सिटको व्यवस्था गरेका थिए।

क्यानडाव्यापी पहिलो पटक नेपाली मूलका खेलाडीबीच चेस प्रतियोगिता आयोजना गर्दै नेपाली मूलका क्यानडा चेस च्याम्पियनलाई प्रतिष्ठित क्यानेडियन चेस प्रतियोगितामा सहभागी गराउन सफल भएका थिए। श्रेष्ठले एनआरएन आईसीसीबाट एनआरएन एनसीसी क्यानडा (नेपालीज क्यानेडियन क्रिकेट क्लबको इभेन्टसँग सम्बन्धित) मा ४४ हजार ७ सय डलर ल्याउन सफल भएका थिए।

श्रेष्ठले इन्जिनियरिङ पेसामा क्यानाडामा आएका नयाँ विद्यार्थीलाई सहयोग हुने गरी विभिन्न सेमिनार सञ्चालन गरेका थिए। श्रेष्ठले क्यानडामा रहेका नेपालीको विभिन्न क्रियाकलापमा आफ्नो सहयोग रहने बताएका छन्।

प्रकाशित: २५ असार २०८२ १०:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast