जनविरोधी शिक्षा ऐनको विरोधमा साउन २ गते शैक्षिक हड्ताल : अखिल (क्रान्तिकारी)

हिमाल प्रेस २४ असार २०८२ १०:४७
3.6k
SHARES
जनविरोधी शिक्षा ऐनको विरोधमा साउन २ गते शैक्षिक हड्ताल : अखिल (क्रान्तिकारी)

काठमाडौँ- विद्यालय शिक्षा ऐन-२०८० को मस्यौदालाई जनविरोधी भन्दै अखिल (क्रान्तिकारी) ले देशभर आमशैक्षिक हड्तालको घोषणा गरेको छ। संगठनका अनुसार  शिक्षा ऐन जारी गर्ने प्रक्रियामा भइरहेको छलफल जनचासो र विद्यार्थी हितविपरीत ढंगले अगाडि बढेको छ।

जनताको मौलिक हक र समान पहुँचको अधिकारको संरक्षण गर्नुको सट्टा शिक्षा प्रणालीलाई अझ बढी विभेदकारी र व्यापारिक बनाउने गरी ऐन ल्याउने तयारी भएकाले सोको प्रतिरोधमा साउन २ गते एकदिने देशव्यापी शैक्षिक हड्तालको घोषणा गरिएको हो।

अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले जारी गरेको अपिलमा विद्यार्थी, शिक्षक, अभिभावक, बुद्धिजीवी, सरोकारवाला तथा आम जनसमुदायलाई हार्दिक आह्वान गर्दै उक्त हड्तालमा भौतिक र नैतिक समर्थन जनाउन अनुरोध गरिएको छ।

संगठनका अनुसार शिक्षामा व्याप्त चरम विभेदको अन्त्य, निःशुल्क, समान र वैज्ञानिक शिक्षाको सुनिश्चितता, संविधान प्रदत्त शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, स्वदेशमै अध्ययन र रोजगारीको अवसरको विस्तार तथा राजनीतिक हस्तक्षेप, माफियाकरण र दलालीकरणको अन्त्य हड्तालको मूल उद्देश्य हो।

संगठनको अपिलमा भनिएको छ- शिक्षा ऐनले सामुदायिक विद्यालयको स्तरोन्नति, शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधान र गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्नुपर्ने हो तर प्रस्तावित मस्यौदाले यस्ता पक्षलाई बेवास्ता गरेको छ।

सोही कारणले संघर्ष अपरिहार्य बनेको जनाउँदै संगठनले साउन २ गतेको आन्दोलन निर्णायक र व्यापक बनाउन सबै पक्षसँग ऐक्यबद्धता जनाउन अपिल गरेको छ।

प्रकाशित: २४ असार २०८२ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast