धरान उपमहानगरले सप्तकोशी खानेपानी योजनामा विदेशी ऋण नलिने

हिमाल प्रेस १९ असार २०८२ १४:१७
16
SHARES
धरान उपमहानगरले सप्तकोशी खानेपानी योजनामा विदेशी ऋण नलिने नगर प्रमुख हर्क साम्पाङ । तस्बिर : हिमालप्रेस ।

काठमाडौँ- सुनसरीको धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले धरानका लागि प्रस्तावित दीर्घकालीन खानेपानी योजनामा एशियाली विकास बैंकबाट ऋण नलिने बताएका छन्। खानेपानी मन्त्रालयलाई पठाएको औपचारिक पत्रमार्फत नगरप्रमुख साम्पाङले उक्त योजनाको सम्पूर्ण लागत राष्ट्रिय आम्दानीबाटै व्यहोर्न बताएका हुन्।

उक्त योजनाअन्तर्गत कम्तीमा ३० वर्षसम्म धरानका बासिन्दालाई खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ सप्तकोशी नदीबाट पानी ल्याउने प्रयास भइरहेको छ। यसै सन्दर्भमा आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारले रू. ४ करोड विनियोजन गरिसकेको जानकारी प्राप्त भएको साम्पाङले पत्रमा उल्लेख गरेका छन्।

तर बाँकी रकम विदेशी ऋणबाट ल्याउने तयारी भइरहेकोप्रति उनले भनेका छन्, ‘देशलाई विदेशी ऋणको भारी थप्नु उचित हुँदैन। पहिले नै लिएको एडीबीको ऋण तिर्न बाँकी रहेको अवस्थामा नयाँ ऋण थप्नु गलत हुनेछ।’

नगरप्रमुख साम्पाङले वैकल्पिकरूपमा स्थानीय स्रोतहरू प्रयोग गरी खोलानाला तथा अन्य माध्यमबाट खानेपानी व्यवस्थापन गर्न सकिने बताएका छन्। ‘यदि योजना राष्ट्रिय बजेटबाट अघि नबढाइएमा हामी आफैँ खोल्सी खोलाको पानी जोडेर गुजारा गर्न तयार छौँ,’ उनको भनाइ छ।

साम्पाङले उक्त पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र धरान उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई समेत पठाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast