बुटवल १२ र १३ मा लालपुर्जाविहीन जग्गाको नापजाँच सुरु

हिमाल प्रेस २० जेठ २०८२ ११:२३
24
SHARES
बुटवल १२ र १३ मा लालपुर्जाविहीन जग्गाको नापजाँच सुरु

बुटवल- बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच सुरु गरेको हो।

बुटवलका वडा नम्बर १२ दुर्गानगर र वडा नम्बर १३ को तारा टोलमा नापजाँच नभएका जग्गाहरुको नापजाँचका लागि बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनले बुटवलका लालपुर्जाविहीन जग्गाहरुको नापजाँच गरी साउनभित्रै लालपुर्जा वितरण गर्ने गरी नापजाँच सुरु भएको बताए।

उनले यसअघि बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घरघडेरीको नापजाँच सकिएको र त्यसअघि बुटवल ११ प्रगतिनगर १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपुर १०० जति घरघडेरीको नापजाँच भइसकेको बताए ।

प्रक्रिया पूरा भएका जग्गाहरुको लालपुर्जा दिने तयारीका साथ बुटवल उपमहानगरपालिका र भूमि समस्या समाधान आयोगले काम गरिरहेको उनले बताए।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको क्रियाशीलताका कारण सबैभन्दा सुरुमा बुटवलमा लालपुर्जा वितरण हुने गरी काम भइरहेको बताए। उनले प्रक्रिया पूरा भएका घरघडेरीको लालपुर्जा दिने गरी काम अगाडि बढेको बताए।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्यायले लालपुर्जाविहिन जग्गाको नापजाँचमा वडाबाट पूर्णरूपमा सहजीकरण हुने र कुनै विवाद नगरी नापजाँच अगाडि बढ्ने बताए।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायणप्रसाद पुनले लालपुर्जा नपाएका घरधनीहरुलाई पुर्जा दिने गरी सुरु भएको काममा सबैको साथ र सहकार्य जरुरी रहेको बताए ।

बुटवल १२ र १३ मा बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको र डिजिटल नापी भएका कारणले कुनै समस्या नआउने गरी नापजाँच हुने बुटवल उपमहानगरपालिका नापी शाखाका त्रिदेव बुढाथोकीले जानकारी दिए।

प्रकाशित: २० जेठ २०८२ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast