बालेनलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भने- अब कार्यक्रममा बोलाउनु पर्दैन

हिमाल प्रेस ५ जेठ २०८२ १५:४७
72
SHARES
बालेनलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भने- अब कार्यक्रममा बोलाउनु पर्दैन

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आयोजना गरेको कार्यक्रममा बोलाएर पनि सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउन निर्देशन दिएका छन्।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा यस्तो निर्देशन दिएका हुन्। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन्।

सरकारका तर्फबाट आयोजना हुने कार्यक्रममा मेयर शाह उपस्थित नभएपछि ओलीले अर्कोपटक सोधिखोजी गर्न निर्देशन दिए।

‘एकपटक होइन, दुईपटक होइन, परिस्थिति छुट्टै विषय हो,’ उनले भने,‘कुनै वास्ता नभएको मान्छेलाई सधैँ बोलाइराख्नुपर्ने यस्तो हुँदैन। अर्कोपटक सोधीखोजी गर्नुहोला, नआउने हो भने, बोलाउन जरूरी छैन।’

प्रधानमन्त्री ओलीले कहिले नआउने व्यक्तिको मानका खातिर नाम राख्नुपर्ने चलन छोड्नुपर्ने बताए।

‘कहिले नआउने, नाम राखिरहनुपर्ने, मानका खातिर मानका चलन छोड्नुपर्छ कि क्या हो?,’ उनले भने,‘केहीकेही मान्छे सधैँ राख्ने गर्छौँ हामीमले हरेक फन्क्सनमा। कहिले देखा पनि पर्दैनन्, केही गर्दैनन्, त्यस्तो खालको मान्छे खोज्यो पनि भेटिन्छ जस्तो लाग्छ मलाई।’

ओलीले सरकारका तर्फबाट आयोजना हुने कार्यक्रममा सहभागी हुन कि नहुने भनेर सोध्न निर्देशनसमेत दिए।

‘कहिले नआउने, तर नाम चाहीँ सधैँ राखिरहनुपर्ने? त्यसलाई कुनै वास्तै छैन, मतलब नै छैन, अर्थै छैन भने सधैँ नाम झुन्ड्याइरहने,’ उनले भने,‘’कि तपाईँहरू सोध्नुस् आउने हो कि होइन, रूची छ कि छैन।

काठमाडौँका मेयर शाह औपचारिक कार्यक्रमहरूमा सहभागी भए आफ्नो कुरा राखेर निस्कने तर अन्य नेताहरूको कुरा सुन्न नचाहेको आरोप पनि लाग्ने गरेको छ।

बैठकमा मन्त्रीहरू, सचिवहरू सहभागी भए पनि काठमाडौँका मेयर शाह भने गएका थिएनन्। गणतन्त्र दिवस मनाउने कार्यक्रम तय गर्न बोलाइएको बैठकमा महानगरकी उपमेयर सुनिता डंगोल भने उपस्थित थिइन्।

प्रकाशित: ५ जेठ २०८२ १५:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast