शिक्षा विधेयक चाँडो पारित गर्न प्रतिपक्षी सांसदको खबरदारी

हिमाल प्रेस १६ वैशाख २०८२ १२:२५
194
SHARES
शिक्षा विधेयक चाँडो पारित गर्न प्रतिपक्षी सांसदको खबरदारी प्रतिनिधिसभाको मंगलबारको बैठकमा विरोध जनाउँदै प्रतिपक्षी सांसद।

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन्। प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए।

सांसद पाण्डेले सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए।

शिक्षक लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो।

उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे।

शिक्षकहरूसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुंग्याउन आवश्यक रहेको उनले बताए। ‘सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरूसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ’, आज साँझ सम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उल्लेख गर्दै उनले भने।

सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे।

सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जंगली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए। अर्का सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।

उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ।

कार्यसूचीअनुसार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने छ। उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आज नै प्रस्तुत हुनेछ।

प्रकाशित: १६ वैशाख २०८२ १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast