
काठमाडौँ- नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यार्थीको भौतिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थीमैत्री झोला तथा प्रविधिमैत्री सिकाइ व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलन कार्यक्रममा (नेविसंघ)ले विद्यार्थीको भौतिक र मानसिक स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थीमैत्री झोला तथा प्रविधिमैत्री सिकाइ व्यवस्था गर्न सरकारसँग माग गरेको हो।
नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यालय जाने क्रममा विद्यार्थीले बोक्नुपर्ने शैक्षिक सामग्रीहरू अत्यधिक भार भएका कारण शारीरिक असन्तुलन र मानसिक दबाब सिर्जना भइरहेको छ। यस्तो अवस्थाले विद्यार्थीको सिकाइ प्रक्रियामा समेत नकारात्मक असर परेको छ।’
संगठनले विद्यार्थीहरूलाई प्रविधिसँग अभ्यस्त गराउन र सिकाइलाई अझ व्यवस्थित बनाउन प्रविधिमैत्री सिकाइको आवश्यकता औंल्याएको छ।
नेविसंघले पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्रीहरू डिजिटलाइज गर्ने, विद्यालय प्रांगणमा सामग्री सुरक्षित राख्ने भण्डारण प्रणाली निर्माण गर्ने तथा सिकाइमा प्रविधिको अधिकतम प्रयोग बढाउन सरकारलाई आग्रह गरेको छ।
नेविसंघका अनुसार प्रविधिमैत्री सिकाइ र झोला नीतिको कार्यान्वयनले विद्यार्थीको समग्र शैक्षिक तथा व्यक्तिगत विकासमा सकारात्मक प्रभाव पर्नेछ। साथै, यसले शिक्षालाई अझ सहज, समावेशी र स्वास्थ्यकर बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।