
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा सभापति देउवाले मुलुकलाई आर्थिक रूपमा सक्षम बनाउन आवश्यक रहेकाले आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका हुन्।
देउवाले मुलुकको आर्थिक विकासमा सरकारका साथै निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजी क्षेत्रले उठाएका माग सम्बोधन हुने बताए। पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्वबजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजी क्षेत्रले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक उपलव्धीकाबीच आम नागरिकको अवस्थामा बदलाव आउन नसकेकाले असन्तुष्टि देखिएको बताए। उनले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभई उचित तवरले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरे।
त्यस्तै महामन्त्री थापाले आर्थिक गतिविधि संकुचित भइरहेको अवस्थामा केही कुरालाई सुधार गर्न सके यसलाई सही दिशातर्फ अघि बढाउन सकिने दाबी गरे।