सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन् : प्रधानमन्त्री

हिमाल प्रेस १३ वैशाख २०८२ १६:२५ | Saturday, April 26, 2025
सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन् : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्बिर।

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गरेका छन्।

नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’ मा केन्द्रित हुन दलका सांसदहरुलाई निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

‘सरकार बाङ्गिसक्यो। शेरबहादुरजी थाइल्याण्डबाट आइपुग्नेबित्तिकै ढल्छ भनेर भनेका थिए। मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस्। आफ्नो मिसनमा लाग्नुस् भनेकै थिएँ। शेरबहादुरजीले सरकार ढल्दैन भनेपछि भ्रम फैलाउनेहरु फत्र्याक्क भएका छन्, सरकार ढल्दैन भनेपछि सकियो। त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नुहुँदैन,’ ओलीले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित बजेट निर्माण गरिरहेको छ। हामी सबैको ध्यान त्यसमा केन्द्रित छ। हल्लाको पछाडि कोही लाग्नुपर्दैन।’

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधानविरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै संसदीय दलका नेता नेता ओलीले अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताए।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैँले गर्नतिर लाग्नुपर्ने बताए।

एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए।

उनले पार्टी दस्तवेजहरुको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए।

प्रकाशित: १३ वैशाख २०८२ १६:२५ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast