जनमत र नाउपाबीच वैशाख १७ गते एकताको घोषणा!

हिमाल प्रेस ११ वैशाख २०८२ १९:२४
32
SHARES
जनमत र नाउपाबीच वैशाख १७ गते एकताको घोषणा!

काठमाडौँ- सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ। जनमत पार्टीका अध्यक्ष राउतले वैशाख १७ गते पार्टी एकताको घोषणाको तयारी भइरहेको जानकारी दिएका हुन्।

पार्टी एकता हुन नदिन विभिन्नखाले प्रपञ्चहरू भइरहे पनि वैशाख १७ गते एकताको घोषणा हुने उनले बताएका छन्।

अध्यक्ष राउतले आफूहरूलाई शक्तिशाली भएको देख्न नचाहने तत्वहरूले जनमत र नाउपालाई तहसनहस गर्न विगत ७–८ महिनादेखि कुनै कसर बाँकी नराखेको उल्लेख गरेका छन्।

‘परिवारमा झगडा लाएर फुट ल्याएर होस् कि पार्टीभित्रकै पदाधिकारीहरूमाथि पैसा, गाडी, साधनस्रोत प्रयोग गरेर होस् कि मिडियामा नानाभाँती समाचार लेखाएर बदनाम गर्दै चरित्र हत्या गर्दै निरूत्साहित गर्न होस् कि कहिले धर्म त कहिले जातिको नाममा आक्रमण गराएर होस् कि पार्टी फुटाइदिने षडयन्त्र होस्, कि केन्द्रीय सदस्य र सांसदहरू नै खरिद गरिदिने प्रपञ्च, कि मलाई ज्यान मार्ने वा रेशमजीलाई पुनः पक्राउ गरादिने धम्की होस्, कुनै पनि कसर बाँकी राखेका छैनन्, राउतले सामाजिक सञ्चालमा लेखेका छन्,‘तर हामी आत्तिएका छैनौँ। तपाईँहरू पनि नआत्तिनुहोला। जनताको भावना र आकांक्षा एकता भएकाले हामी एकताका लागि अगाडि बढ्ने नै छौँ। एकता हुन्छ नै।’

जनमत पार्टी र नाउपाले पार्टीमा नेताहरूको वरियता, नाम, झन्डालगायतका विषय टुंग्याउँदै एकता घोषणाको अन्तिम तयारी गरिरहेको छ। चैत २४ गते बर्दियामा बसेको दुवै दलको कार्यदलको बैठकले पार्टी एकताको टुंगो लगाएको थियो।

दुवै दलबीच भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम नागरिक–जनमत र चुनाव चिह्न ढकिया रहने छ। ढकिया नाउपाको चुनाव चिह्न हो। त्यस्तै झन्डाको रङ बैजनी तथा बैजनी रङको बीचमा चुनाव चिह्न ढकियासहितको झन्डा राख्ने सहमति दुवै दलको छ।

सहमतिअनुसार एकीकृत पार्टीका संरक्षक रेशम चौधरी पहिलो वरीयतामा रहने छन् भने कार्यकारी अधिकारसहितको अध्यक्ष राउत दोस्रो र सहअध्यक्ष रन्जिता श्रेष्ठको तेस्रो वरीयता रहने बताइएको छ।

एकीकृत पार्टीमा आफ्नो तेस्रो वरीयता राखिएकोमा श्रेष्ठले असन्तुष्टि जनाएकी थिइन्। यद्यपि दुवै दलबीच आफ्नो सहमतिअनुसार नै एकताको प्रक्रिया अगाडि बढेको उनको भनाइ छ।

एकता घोषणाको तयारी गरिरहेको जनमत र नाउपा २०७९ सालको आमनिर्वाचनबाट उदाएका शक्तिहरू हुन्। पूर्वी मधेशमा जनमत र पश्चिमी मधेशमा नाउपा दह्रिलो पकड जमाउँदै आमनिर्वाचनमा उदाएका थिए।

एकीकरणपछि बन्ने एकीकृत पार्टी पश्चिम मधेशमा वैकल्पिक शक्तिका रूपमा उदाउनुका साथै पुराना मधेश केन्द्रित राजनीतिक दलहरूलाई चुनौती दिनसक्ने विश्लेषकहरूको भनाइ छ।

प्रकाशित: ११ वैशाख २०८२ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast