
काठमाडौँ- राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय लिएपछि गृह मन्त्रालयले कानुनबाहिर नजान भन्दै अनुरोध गरेको छ। राजतन्त्रको वकालत गर्दै आएको राप्रपाले आज उपत्यकाको निषेधित क्षेत्र तोड्ने योजना बनाएको छ।
यो निर्णयपछि गृहले यदि त्यसो गरे कारबाही हुने भन्दै विज्ञप्ति निकालेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने आफूहरू प्रतिपक्षी दलको नेता भएकाले सरकारलाई भनेर मात्र प्रदर्शनमा सहभागी हुने बताएका छन्।
उनले गृहलाई जबाफ दिँदै राप्रपाको प्रदर्शनका बारे सामाजिक सन्जालमा लेखेका छन्,’ भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो।’
उनले वैचारिक दृष्टिले राप्रपा मुलुकको प्रमुख प्रतिपक्षी दल भएको दाबी गरेका छन्। सरकारलाई नडराउन पनि उनले अनुरोध गरेका छन्।