माओवादीको आलोचना गर्दै एमाले महासचिव पोखरेलले भने- शिक्षा ऐन पास हुन्छ

हिमाल प्रेस ६ वैशाख २०८२ १९:४३ | Saturday, April 19, 2025
माओवादीको आलोचना गर्दै एमाले महासचिव पोखरेलले भने- शिक्षा ऐन पास हुन्छ एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षा ऐन पारित हुनेमा ढुक्क हुन आग्रह गरेका छन्। उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्यालय शिक्षा ऐन अब पास नहुने कुरा छैन – ढुक्क होऔँ।’ उनले विद्यालय शिक्षा ल्याउने जिम्मेवारी लामो समयसम्म माओवादीमा रहेको दाबी गर्दै अहिले पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन्।
‘विद्यालय शिक्षा ऐन ल्याउने जिम्मेवारी लामो समय माओवादी केन्द्रसँग थियो। तर अहिले उल्टै वर्तमान सरकारलाई दोष दिँदै ‘पानीमाथिको ओभानो” बन्ने प्रयास लाजमर्दो छ’, पोखरेलले लेखेका छन्।

वर्तमान सरकार बनेको एक वर्ष पनि नपुगेको अवस्थामा विधेयकमा आएका संशोधनहरूको गम्भीर समीक्षा गर्दै दुई दलीय संयन्त्रमार्फत काम अघि बढाइसकेको जानकारी पोखरेलले दिए। उनले भने, ‘अहिलेको सरकारले विगतमा नभएका पहलहरू गरिरहेको छ, जसको समर्थन गर्नु जरुरी छ। माओवादी केन्द्रले आलोचना होइन, निःसर्त सहयोग गर्नुपर्छ। आफूले नगरेको काम अहिलेको सरकारले गर्न खोजेकोमा धन्यवाद दिनुपर्छ।’

महासचिव पोखरेलले आन्दोलनरत शिक्षकहरूलाई पनि यथार्थ बुझिदिन आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘जो काम गर्न खोज्दैछ, उसलाई निरुत्साहित गर्नु बुद्धिमानी होइन।’

साथै उनले विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्धकारमा धकेल्ने काम उचित नभएको पनि बताएका छन्। शिक्षा ऐन ल्याउन सरकार प्रतिबद्ध रहेकोमा जोड दिँदै उनले १२ गते सुरु हुने संसद्को अधिवेशनमा विधेयक प्राथमिकतामा रहेको स्पष्ट पारेका छन्।

‘अब सबै पक्ष जिम्मेवार बनौँ। संघीयता कार्यान्वयनसँग सम्बन्धित ऐनहरू पारित गर्न सहकार्य गरौँ। शिक्षा हाम्रो साझा भविष्य हो—यसलाई दलिय राजनीतिक स्वार्थको विषय नबनाऔँ’, पोखरेलले लेखेका छन्।

प्रकाशित: ६ वैशाख २०८२ १९:४३ | Saturday, April 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast