प्रमुख निर्वाचन आयुक्त थपलियाको बिदाइ

हिमाल प्रेस ५ वैशाख २०८२ २१:३३ | Friday, April 18, 2025
प्रमुख निर्वाचन आयुक्त थपलियाको बिदाइ

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रबार बिदाइ गरिएको छ। आयोगले एक कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको हो।

आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी यही वैशाख ६ गतेदेखि निवृत्त हुँदैछन्।

बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए।

उनले भने, ‘यस अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको छ।’

साथै उनले स्वतन्त्रताको उद्घोषसँगै सुरू भएको र समयले परिपक्व बनाउँदै लगेको नेपालको निर्वाचन जनताको अभिमतले लेखिएको लोकतन्त्रको महागाथा भएको बताए।

उनले भने, ‘निर्वाचन आयोगले झन्डै छ दशकमा भोगेको राजनीतिक व्यवस्था, निर्वाचन प्रणाली र निर्वाचन व्यवस्थापन प्रक्रियाका उतारचढावपूर्ण यात्राले निर्वाचन लोकतन्त्रको आत्मा हो र नागरिक सहभागिता त्यसको प्राण हो भन्ने स्पष्ट सन्देश प्रवाह गरेको छ।’

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगको कुशल नेतृत्व तथा आयोग परिवार र सरोकारवालाबीचको आपसी समन्वय र क्रियाशीलताबाट निर्वाचन व्यवस्थापन प्रक्रियामा सुधार हुँदै गएको उल्लेख गरे।

बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले २०७६ साल वैशाखदेखि २०८१ चैतसम्म निर्वाचन आयोगबाट सम्पादित प्रमुख कार्यहरूको विवरण रहेको निर्वाचन आयोगका छ वर्ष शीर्षकको पुस्तिका सार्वजनिक गरेका थिए।

प्रकाशित: ५ वैशाख २०८२ २१:३३ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast