शिक्षा ऐन जारी नभएसम्म संघर्ष अझ चर्किन्छ, विजय निश्चित छ : संयोजक पराजुली

हिमाल प्रेस ५ वैशाख २०८२ ५:५१ | Friday, April 18, 2025
शिक्षा ऐन जारी नभएसम्म संघर्ष अझ चर्किन्छ, विजय निश्चित छ : संयोजक पराजुली

काठमाडौँ- नेपाल शिक्षक महासंघको अगुवाइमा सञ्चालित शैक्षिक आन्दोलन आज १७ औं दिनमा प्रवेश गरिसकेको छ। आन्दोलनको नेतृत्व गरिरहेकी महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले शिक्षा ऐन जारी गर्ने सरकारको निष्क्रियताले आन्दोलन अझ चर्किन सक्ने संकेत देखिएको बताएकी छन्।

गत चैत २० गतेबाट सुरु भएको यो आन्दोलन काठमाडौँ केन्द्रित भए पनि यसको प्रभाव देशव्यापी छ। शिक्षकहरूको बाक्लो उपस्थिति, सार्वजनिक चासो र विधेयक निर्माण प्रक्रियामा परेको दबाबका कारण संसद्को विषयगत उपसमिति समेत बिदाको दिनमा काम गर्न बाध्य भएको छ।

‘हाम्राे आन्दोलनको प्रभावले सरकारलाई काम गर्न बाध्य तुल्याएको छ तर अझै पनि ठोस प्रतिबद्धता आएको छैन,’ पराजुलीको भनाइ छ,‘त्यसैले हामी आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउने तयारीमा छौं।’

उनका अनुसार नेपाल सरकार र शिक्षक महासंघबीच भएका विगतका सहमति बुँदाहरू अझै कार्यान्वयनमा आउन बाँकी छन्। शिक्षा ऐनमार्फत ती बुँदाहरू समेटिने अपेक्षा छ तर अहिलेसम्म आएको विधेयकको मस्यौदाले आन्दोलनकारीहरूलाई चित्त बुझाएको छैन।

पराजुली भन्छिन्, ‘हाम्रो निरन्तरता, धैर्यता र शान्तिपूर्ण संयमले आम जनसमुदायको समर्थन पाएको छ। तर अझै पनि सत्ताका संरचनाहरू पुरानै पञ्चायती सोचमा अडिएको देखिएकोले  आन्दोलनलाई थप उचाइमा लैजान हामी तयार छौं।’

शिक्षा ऐन जारी गर्ने वातावरण तयार नभएसम्म आन्दोलन रोक्ने पक्षमा महासंघ छैन। शैक्षिक आमहडताललाई पूर्ण कार्यान्वयनमा लैजाने तयारी, जनस्तरमा सशक्त जनसम्पर्क र राजनीतिक नेतृत्वमा थप दबाब दिने रणनीति महासंघले अघि सारेको छ।

यही कारण आगामी दिनमा आन्दोलनको दायरा थप फराकिलो, स्वर अझ बुलन्द र कार्यविधि थप आक्रामक हुन सक्ने सम्भावना प्रष्ट देखिएको छ।

प्रकाशित: ५ वैशाख २०८२ ५:५१ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast