स्वास्थ्य स्वयंसेविकाको सम्मान हुने गरी बजेट ल्याउन माग

हिमाल प्रेस ४ वैशाख २०८२ १८:३१ | Thursday, April 17, 2025
स्वास्थ्य स्वयंसेविकाको सम्मान हुने गरी बजेट ल्याउन माग स्वास्थ्य स्वयंसेविका। प्रतिनिधिमूलक तस्बिर।

सुर्खेत- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी) को सेवालाई कदर हुने गरी बजेट ल्याउने बताएका छन्।

नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) मा आबद्ध सुर्खेतस्थित स्वयंसेवीहरुको माग तथा सुझावपत्र आज सुर्खेत वीरेन्द्रनगरमा ग्रहण गर्दै उनले स्वयंसेवीहरुको सेवालाई सम्मान हुने बजेट ल्याउने प्रतिबद्धता जनाएका हुन्।

नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्भनमा स्वयंसेवीहरुको भूमिका उल्लेखनीय रहेको बताउँदै उनले स्वयंसेवी महिलाहरूलाई राज्यका निकायबाट कदर हुन नसकेका बारेमा आफू जानकार जनाए।

संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराउँदै उनले भने,‘कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास छ। कर्णाली प्रदेशस्थित स्वास्थ्यसम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको छ।’

नेभाका तर्फबाट दिइएका सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीहरूद्वारा प्रदान गरिने सेवालाई सहज मन्त्री भण्डारीको भनाइ थियो।

स्वयंसेवीहरूले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रतिवर्षको ३० हजारका दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्चबापत २० हजार बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदनबापत सात हजार उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझाव मन्त्रीसमक्ष पेस गरेका छन्।

प्रकाशित: ४ वैशाख २०८२ १८:३१ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast