कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : आरजु

हिमाल प्रेस १ वैशाख २०८२ १६:१२ | Monday, April 14, 2025
कांग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : आरजु परराष्ट्रमन्त्री आरजु देउवा राणा। फाइल तस्बिर।

काठमाडौँ– परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजुराणा देउवाले आफू ‘भाइरल’ हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली कांग्रेस पार्टीभित्र बढेको बताएकी छन्।

इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताएकी हुन्।

उनले भनिन्, ‘मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला। तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो।’

राणाले नेताहरुको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गरेको बताइन्।

उनले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको आफूले सुनेको उल्लेख गरिन्। उनले भनिन्, ‘आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्ने छ। अरू पार्टीहरु ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ।’

मन्त्री राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाव दिइन्। उनले आफ्ना गुनासा र असन्तुष्टिहरु यसरी भाषण गर्दै हिँड्ने विषय नभएको पनि स्पष्ट गरिन्।

वर्तमान पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको बताउँदै उनले आगामी निर्वाचनमा त झन् कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले योभन्दा झन् ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्ने जिकिर गरिन्।

मन्त्री राणाले नेपाली कांग्रेस पार्टीमा महिलाको धेरै ठूलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने बताइन्। उनले भनिन्, ‘कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन। जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ। पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ।’

उनले इलाम जिल्लाको बृहत्तर हितका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिइन्।

नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापा र इलाम जिल्ला सभापति डम्बर खड्काले इलामको विकासका लागि संघीय सरकारको सहयोगको अपेक्षा गरेपछि मन्त्री राणाले यस्तो आश्वासन दिएकी हुन्।

प्रकाशित: १ वैशाख २०८२ १६:१२ | Monday, April 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast