‘निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव’

हिमाल प्रेस २८ चैत २०८१ १७:२९ | Thursday, April 10, 2025
‘निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र आर्थिक विकास सम्भव’ परराष्ट्रमन्त्री आरजु राणा देउवा

काठमाडौँ– परराष्ट्रमन्त्री आरजु राणा देउवाले आर्थिक विकास र प्रगतिको आकांक्षा निजी क्षेत्रको सहभागिता र सक्रियताबाट मात्र सम्भव भएको बताएकी छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ लाई बिहीबार सम्बोधन गर्दै उनले स्रोतको अभावका बाबजुद पनि आर्थिक विकासको जनआकांक्षा पूरा गर्न वर्तमान सरकार ठूला पूर्वाधार निर्माण र स्तरोन्नतिमा केन्द्रित भएको बताइन्।

‘आर्थिक विकास र समृद्धिको बाधकका रूपमा देखिएको राजनीतिक अस्थिरतालाई चिर्न वर्तमान सरकार गठन भएको हो,’ मन्त्री राणाले भनिन्। उनले सरकार गठनपश्चात निजी क्षेत्रलाई सहजीकरण गर्न विभिन्न नीतिगत तथा कानुनी जटिलता फुकाइएको उल्लेख गरिन्।

आर्थिक नीतिको सुधार एवं प्रगतिलाई तीव्र बनाउन वर्तमान सरकार अत्यन्तै संवदेनशील भएर अघि बढिरहेको जानकारी दिँदै राणाले निजी क्षेत्रलाई समृद्धिको यात्रामा प्रोत्साहित गरिरहेको स्पष्ट पारिन्।

उनले मुलुक राजनीतिक स्थिरतासँगै आर्थिक विकासको बाटोमा अघि बढिरहेका बेला अस्थिरताको वातावरण कसैले पनि बनाउन नहुनेमा जोड दिइन्।

पछिल्लो समय वैदेशिक सहायता केही कमी भएकामा निरुत्साहित हुन जरुरी नरहेको औँल्याउँदै उनले आन्तरिक तथा बाह्य लगानीका लागि उपयुक्त वातावरण बनाएर जानसक्नुपर्ने धारणा राखिन्।

‘यो सरकार बनेदेखि नै आर्थिक समृद्धिका बाधक ऐन, कानुन परिमार्जन गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भनिन्, ‘असल शासन र निजी क्षेत्रले काम गर्ने वातावरण बनेन भने मुलुकले समृद्धि हासिल गर्न सक्दैन, तसर्थ राजनीतिक दल, कर्मचारी र निजी क्षेत्र मिलेर काम गर्नुपर्छ।’

प्रकाशित: २८ चैत २०८१ १७:२९ | Thursday, April 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast