
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले बालुवाटारमा भातपानी बन्द गरिदिने चेतावनी दिएका छन्।
काठमाडौँको बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हामीले आह्वान गरेर चारतिरबाट यस्तो जुलुस हुल्दियो भने कसलाई छेक्छौ? कसलाई गोली हान्छौँ?,’ उनले भने,‘म फेरि पनि भन्छु, नसुध्रिने हो भने हामी विद्रोहमा जान्छौँ, गोली हान्छौँ भनेर त भन्दिनँ। तर, बालुवाटारलाई घेरेर भातपानी बन्द गरिदिन सक्छौँ, यो कुरा याद गर्नुस्।।’
लिङ्गदेनले चैत १५ गतेको घटनाबारे छानबिन गर्न न्यायिक आयोग गठन गर्न माग गरे।
उनले चैत १५ गते राज्य आतंक सिर्जना गरेर हिंसा भड्काइएको आरोप लगाए। लिङ्गदेनले राप्रपा कुनै पनि हिंसामा विश्वास नगर्ने पार्टी रहेको बताए।
‘चैत १५ गते राज्यको तर्फबाट भड्काइएको हिंसा थियो, राज्यले हिंसा भड्काएको थियो भन्न कुनै आपत्ति छैन,’ उनले भने,‘राप्रपा कुनै पनि अराजकतामा विश्वास राख्दैन, अराजकताबाट कहीँ पनि पुगिँदैनमा हामीलाई थाहा छ।’
अध्यक्ष लिङ्गदेनले अहिलेको प्रहरी प्रमुख एमालेको युवा संघको सहअध्यक्ष रहेको आरोप लगाए।
उनले भने,‘त्यो हिंसा भड्काउन अहिलेको प्रधानमन्त्री, अहिलेका गृहमन्त्री र अहिलेको प्रहरीको नाइके जिम्मेवार हुन्, प्रहरी प्रमुख जिम्मेवार छन्,’ उनले भने,‘गृहमन्त्रीले आदेश दिएको होलान्, प्रहरी चलेको होलान्। तर, प्रहरी प्रमुख त अहिलेको एमालेको एमालेको युवा संघको सहअध्यक्ष पो रहेछन् त।’
प्रहरी कुनै राजनीतिक दलको भातृ संगठन बन्न नहुने उनले बताए। अध्यक्ष लिङ्गदेनले नेताहरू नसुध्रिए बालुवाटारलाई भातपानी बन्द गर्ने चेतावनी दिए। उनले देशमा राजतन्त्र फर्किने निश्चित रहेको दाबी गरे।