
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षक कर्मचारीलाई वार्तामा बोलाएका छन्। सोमबार हिमालयन डायलगलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षक कर्मचारीका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताए।
‘अहिले शिक्षक आन्दोलन चलिरहेको छ। किन चलाउनुभएको हो मलाई थाहा छैन। म प्रधानमन्त्री छु, म भनिरहेको छु– जायज माग लिएर आउनुहोस्, आन्दोलन गर्नुपर्दैन, हामी सम्बोधन गर्न तयार छौं,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले शिक्षकहरूलाई सडकमा गएर सुत्नु नपर्ने र दुःख नपाउने गरी सरकारसँग संवाद गर्न आग्रह गरे। उनले भने, ‘आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं।’
नेपाल शिक्षक महासंघको नेतृत्वमा ६ दिनदेखि शिक्षक कर्मचारी काठमाडौँमा आन्दोलित छन्। उनीहरूले सरकारसँग पटकपटक गरिएका सहमति अनुसार अविलम्ब शिक्षा ऐन जारी गर्न माग गरेका छन्।