
काठमाडौँ- विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारसँग माग गरेको छ। महासंघका अध्यक्ष गुणराज मुक्तानले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको राजधानी केन्द्रित अनिश्चितकालीन आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
उनले लामो समयदेखि संघीय संसदको प्रक्रियामा रोकिएको विधेयक तत्काल संसदबाट पारित गर्नुपर्ने बताए। ‘संविधान जारी भएको एक दशक बितिसक्दा पनि विद्यालय शिक्षा ऐन कार्यान्वयनमा नआउनु दुःखद् हो,’ विज्ञप्तिमा भनिएको छ,’शिक्षकहरू ऐनको माग गर्दै सडकमा उत्रनु परेको अवस्था झनै पीडादायक छ।’
मुक्तानले पञ्चायतकालको शिक्षा ऐनअन्तर्गत संघीय लोकतान्त्रिक गणतन्त्र सञ्चालन हुनु स्वयं व्यवस्थागत असंगतता भएको टिप्पणी गर्दै विद्यालय शिक्षालाई व्यवस्थित बनाउन नयाँ ऐन अपरिहार्य रहेको स्पष्ट पारे।
विज्ञप्तिमा विद्यालय शिक्षा ऐन संविधानमा उल्लेखित शिक्षासम्बन्धी व्यवस्थाहरू, विगतमा भएका सरकारी सम्झौता तथा शिक्षकहरूसँग भएका सहमति र प्रतिबद्धताको आधारमा ल्याइनुपर्ने उल्लेख छ। साथै, आम अभिभावक र बालबालिकाको हितलाई ध्यानमा राखेर शिक्षकहरूलाई सडकबाट विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग अपिल गरिएको छ।