काठमाडौँ- शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर गत माघ २० गतेदेखि सुरु भएको शिक्षक कर्मचारीको आन्दोलनअन्तर्गत आज पनि भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रिले अनशन जारी छ।
दोस्रो चरणअन्तर्गतको यो अनशन आज नेपाल शिक्षक महासंघका सचिव कल्पना पनेरु सिंखडाको नेतृत्वमा विहान ८ बजेदेखि जारी छ। रिले अनशनको आज छैटौँ दिन हो। अनशन १५ गते सकिने महासंघको भनाइ छ।
महासंघका अध्यक्ष, पदाधिकारी तथा आबद्ध सम्बद्ध संस्थाका अध्यक्षहरूको नेतृत्वमा रिले अनशन हुँदै आएको छ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक–२०८० ले ऐन को रुप नपाउँदा शिक्षक आन्दोलन लम्बिदै गएको छ।
शिक्षा ऐन जारी गर्न सरकार तत्पर नभएको महासंघको भनाइ छ। महासंघले चैत २० गते चार लाख शिक्षक कर्मचारीलाई काठमाडौँ जान आह्वान गरिसकेको छ।
ऐन जारी नभएसम्म लाखौं शिक्षक कर्मचारी सडकमै बस्ने र ऐन लिएर विद्यालय फर्किने महासंघले बताएको छ। महासंघको जारी आन्दोलनको नारा ‘कि जितिन्छ कि बितिन्छ’ रहेको छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

