शिक्षा ऐनका लागि आन्दोलन : महासंघको बैठक सुकेधारामा जारी, रिले अनशनको तयारी

हिमाल प्रेस ५ चैत २०८१ १०:५०
1.6k
SHARES
शिक्षा ऐनका लागि आन्दोलन : महासंघको बैठक सुकेधारामा जारी, रिले अनशनको तयारी

काठमाडौँ- प्रतिनिधिसभाको चालु अधिवेशनबाटै शिक्षा, शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावकमैत्री अग्रगामी शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर गत माघ २० गतेदेखि सुरु भएको आन्दोलनको समीक्षा गर्दै आगामी संघर्षका रणनीति तय गर्न नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठक सुकेधारामा जारी छ।

नेपाल शिक्षक संघको केन्द्रीय कार्यालयमा बसेको बैठकमा महासंघमा आबद्ध/सम्बद्ध सबै घटकका प्रतिनिधिहरू उपस्थित छन्। संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) का कार्यवाहक महासचिव भूपाल उप्रेतीका अनुसार शिक्षा ऐनका लागि सुरु भएको आन्दोल दोस्रो चरणमा पुगेको छ। यसअन्तर्गत विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयहरूमा धर्ना दिने कार्यक्रम लगभग समाप्त हुन लागेको छ। अब महासंघले आन्दोलनलाई नयाँ चरणमा लैजाने तयारी गरिरहेको छ।

उनको भनाइमा अबको संघर्षको स्वरूप रिले अनशन हुनेछ। यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा बैठकमा गम्भीर छलफल भइरहेको छ। महासंघका नेताहरूले रिले अनशनलाई लामो समय टिकाउने, शिक्षकहरूको व्यापक सहभागिता सुनिश्चित गर्ने र सरकारमाथि दबाब बढाउने रणनीतिबारे विस्तृत योजना बनाइरहेका छन्।

महासंघले लामो समयदेखि शिक्षक, कर्मचारीलगायतका मागहरू सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब  दिइरहेका छन्। तर, सरकारी पक्षले ठोस निर्णय नगरेको भन्दै महासंघका नेताहरू आक्रोशित छन्। उनीहरूका अनुसार, शिक्षा ऐनले शिक्षकहरूको पेसागत सुरक्षासँगै, उनीहरूको सेवासुविधा सुनिश्चित गर्नुपर्छ। तर, हालसम्म सरकार गम्भीर रूपमा प्रस्तुत नभएकाले संघर्षको स्वरूप अझै कडा बनाउनुपर्ने आवाज उठिरहेको छ।

बैठकमा उपस्थित महासंघका विभिन्न घटक प्रतिनिधिहरूले आन्दोलनलाई थप सशक्त बनाउनुपर्ने धारणा राखेका छन्। उनीहरूले सरकारलाई दबाब दिनका लागि शिक्षकहरूबीच अझ बलियो एकता आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast