
महोत्तरी- बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा केन्द्राध्यक्ष नियुक्तिको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाद्वारा गर्न निर्देशन दिएका छन्।
मुख्यमन्त्री सिंहले परीक्षाको मर्यादा कायम राख्न तथा निष्पक्षता सुनिश्चिति गर्न केन्द्राध्यक्ष सम्बन्धित विद्यालयका प्रधानाध्यापक नभई गोलाप्रथाद्वारा तोकिनुपर्ने बताए। उनले यसबारे यसअघि नै पत्राचार गरिसकेको स्मरण गराउँदै केही जिल्लाले पुरानै अभ्यासअनुसार प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष तोक्न लागेको भन्दै विज्ञप्तिमार्फत आपत्ति जनाएका छन्।
सिंहद्वारा जारी विज्ञप्तिमा यदि जिल्ला परीक्षा समन्वय समितिले गोलाप्रथा नअपनाए मधेश सरकार परीक्षा सञ्चालन प्रक्रियाबाट अलग्गिनेसम्मका कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ।
तर, जिल्ला परीक्षा समन्वय समितिहरूले समय अभावका कारण पुरानै प्रक्रिया अपनाउनु परेको बताउँदै आएका छन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी एवं समिति अध्यक्ष लालबाबु कवारीका अनुसार यसअघि झैं यसपालि पनि केन्द्राध्यक्ष विद्यालयकै प्रधानाध्यापकलाई नै तोकिएको छ।
शिक्षाविद्हरूले परीक्षा निष्पक्ष बनाउन सुधार आवश्यक भए पनि प्रक्रियामा सबै पक्षबीच सहमति हुनुपर्ने बताएका छन्। शिक्षाविद् केदारबहादुर कोइरालाले परीक्षा मर्यादित बनाउन आपसी समन्वय जरुरी रहेको बताए।
यस वर्ष महोत्तरीमा १० हजार ९४६ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन्। जिल्लाका १३७ विद्यालयका परीक्षार्थीहरूका लागि ३२ परीक्षा केन्द्र तोकिएको छ। परीक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी कवारीले जानकारी दिए।