![सरकारले ल्याएका अध्यादेशहरूलाई कांग्रेसको समर्थन](https://himalpress.com/wp-content/uploads/2024/02/congress-samsadiya.jpg)
काठमाडौँ- नेपाली कांग्रेसले सरकारले हालै ल्याएका विधेयकहरूलाई समर्थन गर्ने निर्णय गरेको छ। कांग्रेस संसदीय दलको बैठकले सरकारले ल्याएका विधेयकहरूलाई समर्थन गर्ने निर्णय गरेको हो।
कांग्रेस संसदीय दलको बैठक बिहीबारका साथै माघ १३, १४ र १८ गते बसेको थियो।
आर्थिक तथा व्यवसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवासम्बन्धी, भूमिसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन समेत गरी २९ वटा विद्यमान ऐन संशोधन गर्न आएका अध्यादेशहरूलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
बैठकले संविधान कार्यान्वयनका लागि आवश्यक विधेयक अविलम्ब संसदमा पेस गर्न सरकारलाई आग्रह गरेको छ। त्यस्तै संसदमा विचाराधीन रहेका विधेयकहरू चालु अधिवेशनबाट पारित गर्न संसदीय समितिमा आवश्यक प्रभावकारी नेतृत्वदायी भूमिका निर्वाह गर्न बैठकले आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
संसदीय दलको अनुशासन समितिको संयोजकमा दिलेन्द्रप्रसाद बडुलाई मनोनयन गर्ने निर्णय बैठकले अनुमोदन गरेको प्रमुख सचेतक घिमिरेल जानकारी दिए।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कांग्रेस संसदीय दलको बैठकले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ।