जसपा नेपालको बैठक लम्बियो, संगठनात्मक जिम्मेवारी हेरफेर गर्ने तयारी

हिमाल प्रेस २० माघ २०८१ २०:५२
6
SHARES
जसपा नेपालको बैठक लम्बियो, संगठनात्मक जिम्मेवारी हेरफेर गर्ने तयारी

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एक दिन लम्बिएको छ। अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको कार्यसूची र एजेन्डामाथिको छलफल नसकिएपछि बैठक लम्बिएको हो।

बालकुमारीस्थित पार्टी कार्यालयमा शनिबारदेखि सुरू भएको बैठक सोमबार पुनः ११ बजे बस्ने गरी आइतबार साँझ स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ।

आइतबारको बैठकमा पार्टी सुदृढीकरणका लागि केन्द्रदेखि वडास्तरसम्म सञ्चालन भएको अभियानबारे छलफल भएको छ। बैठकले क्षेत्रगत प्रगति विवरणसहित भएको छलफलमा अभियान प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

बैठकमा पार्टीको केन्द्रीय सल्लाहकार समिति गठनका लागि नामावली संकलन गरिएको छ। सोमबार बस्ने बैठकले संकलित नामावलीबाट समितिको नेतृत्व र अन्य बाँकी सदस्यहरू चयन गर्नेछ।

तीन जना विभागीय प्रमुखसहित ३५ सदस्यीय कार्यकारिणी समितिमा नयाँ सदस्य थप्ने गरी यसअघि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनउपर सोमबार छलफल हुने कार्यसूची छ।

बैठकले केही संगठनको जिम्मेवारी हेरफेर गरेको र अन्तिम रूप सोमबार बस्ने बैठकले दिने बताइएको छ।

यसैगरी पार्टीको आगामी कार्यदिशा, वर्तमान राजनीतिक अवस्था, मधेश केन्द्रित दलहरूको संयुक्त मोर्चालगायतका विषयमा समेत सोमबारको बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: २० माघ २०८१ २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast