शान्ति प्रक्रियापछि धुलोमैलो लाग्यो, पार्टी विभाजन रोक्न सकिनँ : प्रचण्ड

हिमाल प्रेस १५ माघ २०८१ १५:३०
14
SHARES
शान्ति प्रक्रियापछि धुलोमैलो लाग्यो, पार्टी विभाजन रोक्न सकिनँ : प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रियापछि पार्टीलाई धुलोमैलो लागेको र विभाजन पनि रोक्न नसकेको बताएका छन्।

म्याङलुङस्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले समयक्रमसँगै माओवादीका एजेन्डा कमजोरजस्ता भएको र अब सम्पूर्ण शक्तिका साथ पार्टीलाई आफ्नो वर्ग र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए।

‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो। हामीले महान् सहिदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगहरूलाई निरन्तर भेटघाट गरेर सुखदुःख बुझ्नुपर्ने थियो। उनीहरूलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएको जस्तो, बेवास्ता गरेको जस्तो भयो,’ प्रचण्डले भने।

हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएको र त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए। जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरूसँगको उठबस बाक्लो भएको स्वीकारोक्ति उनको थियो।

प्रचण्डले मजदुर, किसान, उत्पीडित, समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थारुका मुद्दा उठाएर स्थापित गरे पनि अहिले आएर ती समुदाय र वर्गले माओवादीले हाम्रो मुद्दा त उठायो तर, बीचैमा छाडिदियो भन्ने पर्न गएको बताए।उनले भने, ‘हामीलाई यहाँसम्म ल्याउन भूमिका खेल्ने वर्ग र समुदायका मुद्दा अलिकती ‘लुज’ भयो। वर्गबैरीहरूसँग बढी सहकार्य गरेको जस्तो देखियो। अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ।’

पार्टी विभाजनको श्रृ‌ंखला रोक्न नसकिएको स्वीकार गर्दै उनले अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको बताए। ‘अब हमी हाम्रो वर्गसँगको सम्बन्धलाई बजबुत बनाउने र बलिदानका साथ स्थापित गरिएका त्यो वर्गका मुद्दाहरूलाई फेरि उजागर गर्ने, स्थापित गर्ने र अगाडि ल्याउने काममा लागेका छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast