एमाले अछामका ६ जना नेताहरू कारबाहीमा

हिमाल प्रेस १० माघ २०८१ १४:३९ | Thursday, January 23, 2025
एमाले अछामका ६ जना नेताहरू कारबाहीमा

काठमाडौँ– नेकपा एमालेले पार्टी हितविपरित काम गर्ने अछामका ६ जना जिल्ला कमिटीका नेताहरूलाई कारबाही गरेको छ।

भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानको पक्षमा लागि पार्टी हितविपरीत काम गर्नेलाई पार्टी जिल्ला कमिटीले कारबाही गरेको हो।

पार्टी जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधानविपरीतका गतिविधिमा संलग्न भएकाले कारबाही गरिएको बताएका छन्।

कारबाहीमा पर्नेमा जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर छन्।

उनीहरूलाई पार्टीको जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ। ‘मातृभूमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमन्त्री एवं पार्टी केन्द्रीय कमिटीका अध्यक्षविरुद्ध अलोकतान्त्रिक र अशोभनीय नाराबाजी गरेको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रस्टै देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

यस अघि पनि उनीहरू पार्टी हितविरुद्धको गतिविधिमा लागेको विज्ञप्तिमा उल्लेख छ। त्यस बेला पार्टीप्रति पूर्ण प्रतिबद्ध रहने लिखित आत्मालोचनासहितको स्पष्टीकरण पेस गरेकाले एकटकका लागि कारबाहीको प्रक्रिया अगाडि नबढाउने निर्णय भएकोमा पुनः त्यस्ता गतिविधि दोहोर्‍याएकाले कारबाही गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: १० माघ २०८१ १४:३९ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast