माओवादीको अस्थिर चरित्रका कारण कांग्रेस–एमालेको गठबन्धन बनेको हो : महत

हिमाल प्रेस ६ माघ २०८१ १८:५८ | Sunday, January 19, 2025
माओवादीको अस्थिर चरित्रका कारण कांग्रेस–एमालेको गठबन्धन बनेको हो : महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताएका छन्।

आइतबार नेपाली जनसम्पर्क समिति भारतले नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बीपि विचार र प्रवासी समस्या विषयक अन्तर्क्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।

उनले भने, ‘भारतमा रहेका प्रवासी नेपालीहरुले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन तपाईँहरुले आगामी दिनमा खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु।’

महतले संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिए। उनले पार्टीमा व्यक्तिवादी सोच र आफु केन्द्रीत प्रवृत्ति हावी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे।

उनले नेपाल–भारत सम्बन्धको चर्चा गर्दै भने, ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका बीचमा समस्याहरु आउनु स्वाभाविक हो। ती समस्याहरुको समाधान कुटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर गर्नु पर्छ।’

महतले माओवादीको अस्थिर चरित्रका कारण अहिले एमाले–कांग्रेस गठबन्धन बनेको बताए।

सात बुँदे समझदारीअनुसार यो सरकार अगाडि बढ्नु पर्ने कुरामा जोड दिँदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने उल्लेख गरे।

प्रकाशित: ६ माघ २०८१ १८:५८ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast